दुबई । जनता समाजवादी पार्टी युएईमा नयाँ नेत्रित्व चयन भएको छ । पार्टीको बिदेश स्थित भात्री सस्थाको रुपमा रहेको अन्तराष्ट्रीय नेपाली समाज युएईको ५ औँ अधिवेशनले मुम्चे राई (विद्रोही साँइला) को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसपा नेपाल प्रवास विशेष समितिका उपाध्यक्ष प्रमोद श्रेष्ठ, कोषाध्यक्ष मुन्ना समसुल हक र संघीय परिषद सदस्य सुजन भण्डारी सदस्य रहेको निर्वाचन समितिले राईको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति घोषणा गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षहरुमा शोभा शर्मा र भुपाल पौडेल, महासचिवमा धनकृष्ण राई, कोषाध्यक्षमा दिपक गुरुङ, र सचिवमा रन्जु राई छन् । त्यस्तै सदस्यहरुमा राधिका सुधाकर, मोहमद कमरुल, चिरञ्जीवी लुइटेल, युक्त बहादुर सार्की, मोहन बराइली, मनोज जिम्बा र भिमबहादुर तामाङ चयन भएका छन्।
जसपा नेपालका युएई ईन्चार्ज पासाङ शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेफिन युएईका अध्यक्ष विक्रम लिम्बू, एनआरएनए युएईका वरिष्ठ उपाध्यक्ष हरि मोक्तान, नेपाली समाज युएईका उपाध्यक्ष रामबाबु राउत लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा जसपाकी केन्द्रीय कारिणी सदस्य एवम् प्रतिनिधिसभा सदस्य सुशिला श्रेष्ठ र बिशेष अतिथीको रुपमा जसपाका केन्द्रीय सदस्य एवम् प्रवास विभाग इन्चार्ज आङ्काजी शेर्पा थिए ।
संघीयताले देश टुक्रिदैन : आङ्काजी शेर्पा
जसपाका केन्द्रीय सदस्य एवम् प्रवास विभाग इन्चार्ज आङ्काजी शेर्पाले संघीयताले देश नटुक्रिने बताएका छन । पार्टीको प्रवाश संगठन अन्तर्राष्ट्रिय नेपाली समाज युएईको ५ औँ अधिवेशनलाई आइतबार दुबईमा सम्बोधन गर्दै शेर्पाले संघीयताले देश नटुक्रिने दाबी गरेका हुन्।
नेपाल आदिवासी जनजाती महासंघका पुर्व महासचिव समेत रहेका शेर्पाले युएईमा कार्यरत नेपाली तथा पार्टीनीकट कार्यकर्तालाई सम्बोधन गर्दै संघीयताका कारण देश नटुक्रीने बताएका हुन । बरु राज्यले पहिचान स्विकार्न नसक्दा भारतबाट पाकिस्तान टुक्रिएको उल्लेख गरे । त्यस्तै नेता शेर्पाले धार्मिक र भाषिक पहिचान स्विकार्न नसकदा पाकिस्तान र बङ्गलादेश टुक्रिएको बताए । सम्बोधनपछि हालखबरसँग कुरा गर्दै नेता शेर्पाले पहिचानको मुद्दा अहिले प्रदेश नम्बर एकमा देखिएको उल्लेख गरे । कोशी प्रदेशको नामाकरणमा पहिचान कसरी झल्किन्छ? उनले प्रतिप्रश्न गरे । हामीलाई त्यो कुनै पनि हालतमा स्विकार्य छैन । पार्टीले त्यसतर्फ आन्दोलन सहित पहिचानको मुद्दामा संघर्षरत रहेको शेर्पाको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रीय कारिणी सदस्य एवम् प्रतिनिधिसभा सदस्य सुशिला श्रेष्ठले पहिचानको लडाइँमा आवद्ध हुन सबै नेपालीहरुलाई आग्रह गरेकी थिइन् ।
बरदुबईको ब्लु प्यालेस रेष्टुरेन्टमा सम्पन्न अधिवेशनमा युएईका विभिन्न राज्यमा कार्यरत नेपालीहरु सहभागी भएका थिए। कार्यक्रममा युएईमा क्रियाशिल नेपाली संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो।
