९० प्रतिशतले नेपालको नागरिकता त्याग नगरेको खुलासा
हालखबर अनलाइन । तीन महिनाको अवधिमा एक हजार तीन सयभन्दा धेरै गैरआवासीय नेपालीले नेपाली नागरिकता लिएका छन् । उपत्यकाका तीन जिल्लाबाट मात्र करिब ६ सयले नेपाली नागरिकता लिएका हुन् ।
गत २० असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई एनआरएनलाई नागरिकता दिएर गैरआवासीय नेपालीलाई नागरिकताको सुरुवात गरेका थिए । त्यसयता गृह मन्त्रालयका अनुसार ७ माघसम्म देशभरका जिल्ला प्रशासन कार्यालयबाट एक हजार ३ सय २८ वटा एनआरएन नागरिकता जारी भएका छन् ।
एनआरएन नागरिकता उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट धेरै जारी भएको गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमले बताए । सबैभन्दा धेरै काठमाडौंबाट चार सय ४३ जनाले यस्तो नागरिकता लिइसकेका छन् । ललितपुरबाट ८६ र भक्तपुरबाट ५३ जनाले नागरिकता लिएको विवरण छ ।
गैरराजनीतिक अधिकारसहितको नेपालमा पहिलोपटक एनआरएन नागरिकता दिन थालिएको हो । ०७२ सालमा जारी संविधानमै यससम्बन्धी प्रावधान भए पनि बल्ल कार्यान्वयन थालिएको हो । सरकारले नागरिकता ऐन र नियमावली संशोधन गरी एनआरएनलाई नागरिकता दिन थालेको हो ।
नागरिकता ऐनको दफा ७ मा गैरआवासीय नेपालीलाई नागरिकतासम्बन्धी प्रावधान छ । ऐनको ७ ९क० १ मा, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने’ उल्लेख छ ।
मतदान र राजनीतिमा रोक
यस्तो नागरिकता पाउनेले मतदान गर्न तथा राजनीति गर्न भने पाउनेछैनन्। नियमावलीले गैरआवासीय नेपालीलाई नेपाली नागरिकता लिने प्रक्रिया र मापदण्ड प्रस्ट पारेको छ । निवेदन दिने व्यक्ति वा उसको आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।
तर, विगतमा अन्य देशको नागरिकता लिँदा धेरैले नेपालको नागरिकता पनि कायम गरेको हाल नागरिकता लिने क्रममा खुलेको छ । ‘अन्य देशको नागरिकता लिँदा ९० प्रतिशतले विगतमा नेपालको नागरिकता त्याग नगरेको जिल्ला प्रशासन कार्यालय काठमाण्डौँले जनाएको छ ।
एनआरएन नागरिकता प्राप्त गर्न विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण चाहिने प्रावधान छ । तर, धेरैले हालै मात्र त्याग गरेको विवरण पेस गरेका छन् । जब कि विदेशी नागरिकता भने वर्षौँअघि लिएका छन् ।
एनआरएन नागरिकताका लागि नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पनि आवश्यक हुने र शपथ गराउनुपर्ने प्रावधानसमेत ऐन र नियमावलीमा छ । यस्तो नागरिकता लिएका व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहितविपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत छ ।
