आबुधावी । युएईको आबुधावीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आबुधावीमा रहेका नेपालीका लागि भनेर राखिएको स्वास्थ्य शिविरमा १ सय ४५ जनाले स्वास्थ्य सेवा लिएका छन । यहाँ रहेको बिबिटी रेस्टुरेन्ट, रिदिम फेसिलिटी मेनेज्मेन्ट, ब्लेजिङ स्टार क्लिनिङ एन्ड रियल स्टेट कम्पनीको आयोजनामा मंगलबार नि:शुल्क स्वास्थ्य शिविर राखिएको थियो ।

युएईको प्रतिष्ठित अल अहालिया हस्पिटलको प्राविधिक तथा चिकित्सकीय सहयोगमा आयोजित स्वास्थ्य शिविरमा १ सय ४५ जनाले नि:शुल्क स्वास्थ्य सेवा प्राप्त गरेका थिए । सो अस्पतालमा कार्यरत नेपाली चिकित्सक यासिर श्रेष्ठ र नेपाली नर्स सुजिना श्रेष्ठको प्रत्यक्ष निगरानीमा सम्पन्न उक्त शिविरमा मधुमेह, रक्तचाप, आँखा लगायत विभिन्न रोगको परीक्षण गरिएको थियो ।

रिदिम फेसिलिटी मेनेज्मेन्टको कार्यालय परिसरमा सम्पन्न उक्त नि:शुल्क स्वास्थ शिविरमा नेपाली श्रमिकहरुको साथमा भारतीय, बंगलादेशी, पाकिस्तानी श्रमिकहरुले स्वास्थ सेवा लिएको बिबिटी रेष्टुरेन्टको तर्फबाट स्वास्थ्य शिविरको समन्वयकर्ता रामप्रसाद ढुंगेलले जानकारी दिए ।

शिविरमा उपस्थित अधिक सहभागीको स्वास्थ्य अवस्था सामान्य पाइए पनि उच्च रक्तचाप र मधुमेहका बिरामीको संख्या पनि उल्लेख्य रहेको कार्यक्रम हस्पिटलतर्फका संयोजक प्रज्ञा घिमिरे शर्माले बताइन ।
शिविरको सफलताको लागि एनआरएनए युएईका उपाध्यक्ष फडिन्द्र ढकाल, कोसाध्यक्ष सुमन पराजुली, झापाली समाज युएईका महासचिव लोकेस्स कोइराला, अबुधाबी क्षेत्र अध्यक्ष सुर्यबहादुर खवास उपस्थित भएर स्वास्थ्य परीक्षण गरेका थिए । त्यस्तै पत्रकार महासंघ युएई शाखा सदस्य उमाकान्त पाण्डे, झापाली समाज युएई, अबुधाबी क्षेत्रीय समितिका काशीराम ढकाल, प्रवासी नेपाली मन्त्र युएईका सुन्दर पाठक तथा तथा अन्तरास्ट्रिय नेपाली समाजका सदस्यहरुको उपस्तिथि रहेको थियो ।

आफ्नो कम्पनीको केन्द्रिय कार्यलय परिसरमै हस्पिटलको टोली आएर अति आवश्यक सेवा नि:शुल्क उपलब्ध गराएकोमा बिबिटी रेस्टुरेन्ट, ब्लेजिङ स्टार कम्पनी, रिदिम फेसिलिटी मेनेज्मेन्ट, रिदिम बिल्दिङ मेटिरियल कम्पनीका प्रवन्ध निर्देशक केशव कार्कीले उपस्थित सबैलाई आभार व्यक्त गरे ।
अहलिया अस्पातलले शिविर सन्चालनका लागि सहयोग गरेको भन्दै बिबिटी रेस्टुरेन्टका व्यवस्थापक बिष्णुप्रसाद लामिछानेले धन्यवाद प्रकट गर्दै हस्पिटल र आफू आवद्ध ५ वटै कम्पनीबीच सुमधुर सम्बन्ध रहेको र अस्पतालको सेवा गुणस्तरीय रहेको धारणा व्यक्त गरेका थिए ।
शिविर संचालन्मा नेपाल पत्रकार महासंघ युएई शाखा, अन्तरास्ट्रिय नेपाली समाज र झापाली समाज युएईले समेत सहजीकरण गरेका थिए ।

