हालखबर अनलाइन ।
सरकारले परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गरेको छ। परराष्ट्र मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्ने उनी पहिलो महिला हुन्।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लम्साललाई सचिवमाबढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
यसअघिका परराष्ट्र सचिव भरतराज पौड्याल क्यानडाका राजदूत सिफारिस भएपछि लम्सालले निमित्त परराष्ट्र सचिवको रूपमा जिम्मेवारी सम्हालिरहेकी थिइन् । लम्सालसँगै नेपाल सरकारको सचिवमा ९ जना महिला सचिव पुगेका छन् ।
२०५५ सालमा शाखा अधिकृतबाट सरकारी सेवा थालेकी लम्सालले उपसचिवबाट परराष्ट्र समूहमा प्रवेश गरेकी थिइन् । २०७७ सालपछि मन्त्रालयको प्रवक्ता समेत बनेकी उनले पछिल्लोपटक पाकिस्तानमा नेपाली राजदूतका रुपमा काम गरेकी थिइन् । ताजकिस्तान, तुर्केमेनिस्तान, उज्वेकिस्तान इरान, टर्की, कीर्गिस्तानमा समेत उनी राजदूत थिइन् ।
त्यस्तै, मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ। रथिमा बढुवा भएसँगै सिग्देल नेपाली सेनाको प्रधानसेनापति बन्ने लाइनमा छन्।
साथै, बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ
