काठमाडौं । नेपाल एयरलाइन्सले विमानस्थल पुगेका यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टिमलाई लिएर दुबइ उडेको छ ।
निगमले प्रधानमन्त्री दाहालसहितको टिमलाई लैजानको लागि यात्रुलाई अलपत्र पारेको हो । नेपाल एयरलाइन्सको बुधबार राति ११ः३० मा काठमाडौं–दुबई उडान थियो । सोहीअनुसार यात्रुहरु विमानस्थल पुगेका थिए ।
यात्रुहरु ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसेकेका थिए । त्यहाँ गएपछि उनीहरुलाई थाहा भयो जहाज नियमित उडान समयभन्दा दुई घण्टा अघि सारेर प्रधानमन्त्रीलाई लिएर जहाज दुवईका लागि उड्यो ।
८ः३० बजेसम्म ३१ जना यात्रुहरु बोर्डिङ पास कक्षमा पुगेको थिए । यात्रुमध्ये अमित बीक ३० तारिक बिहान कम्पनीको काममा हाजिर हुन पर्ने भएकोले उडानका लागि विमानस्थल पुगेका थिए । बोर्डिङ पासको लागि ८ः३० मा एयरपोर्ट पुगेका थिए ।
बिक बोर्डिङ पासको लागि सेक्युरिटी चेक गरेर भित्र पसे । सेक्युरिटी चेकिङ पनि अरु दिनको तुलनामा कडा थियो । उनले त्यहाँ सोधे – जवाफ आयो, भीभीआईपीको सवार छ । उनीसहित ३१ जनाको टिकट हातमै थियो । जुन टिकटमा फ्लाइट समय साढे ११:३० बजे राखिएको थियो ।
उडान सारिएको बारेमा सबैलाई सूचना गरेका थियौं भन्दै त्यहा खटिएका कर्मचारीले जवाफ फर्काएको बिकको भनाइ छ । जबकि ३१ जनामध्ये एक जनालाई पनि उडानको विषयमा कुनै पनि सूचना दिईएको थिएन । उनीहरु अलमलमा परे ।
उनीहरुले चित्तबुझ्दो जवाफ नपाएपछि पुनः यस्तो कसरी हुन्छ ? भन्दै प्रश्न गरे । “एकछिन ड्युटी अफिस आउने र सबै कुरा उहाँहरुबाट नै सोध्नु होला,” उनलाई जवाफ आएको थियो । ड्युटी अफिसर एक घण्टा ढिला आएर माथिको आदेशानुसार काम भएकाले केही भन्न नमिल्ने जवाफ फर्काएका थिए ।
राति विमानस्थल पुगेका ३१ जना यात्रुलाई अहिले काठमाडौं ज्ञानेस्वरको काभेरी इन होटलमा राखिएको छ । अर्को उडान बारे अहिले सम्म यात्रुलाई केही भनिएको छैन । नेपाल एयरलाइन्सले भने आफूले पहिले नै यात्रुलाई खबर गरेको दाबी गरेको छ ।
नेपाल एयरलाइन्सकी युएई प्रमुख अस्मिता सुवेदीले यस् बारे आफुलाई जानकारी नभएको हालखबरलाई बताइन । काठमाण्डौ बाट प्रधानमन्त्री सहित जहाज उडेको थाहा छ, यात्रु छुटेको बारे बुझ्न टेलिफोन गर्दा सुवेदीले यात्रु छुटे नछुटेको बारे आफुलाई थाहा नभएको बताइन ।
एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले भने, “हामीले सबै यात्रुलाई जानकारी गराएका थियौँ । उनीहरु किन कसरी छुटे भन्ने जानकारी पाउन सकेनौँ । छुटेका यात्रुहरुलाई अरु विमानबाट भए पनि पठाउने तयारी गरेको पौडेलको भनाइ छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाल एयरलाइन्सका यात्रु अलपत्र पारिएको विषय क्षम्य हुन नसक्ने बताएका छन् ।
“प्रधानमन्त्रीज्यूका लागि एक हप्ताअगाडि टिकट लिइएको थियो । उहाँलाई दिइएको समय ९ः३० बजेको थियो र ९ः३० मै उहाँ उड्नुभएको हो,” प्रेस सल्लाहकार आचार्यले भने, “प्रधानमन्त्रीलाई यात्रु छुटेको विषय जानकारी छैन । त्यसरी छुटाइएको हो भने त्यो क्षम्य विषय हुन सक्दैन ।”
