काठमाण्डौँ । जाजरकोट भूकम्पमा परी दुई जिल्लाका ६७ विद्यार्थीको मृत्यु भएको छ । ४० हजार विद्यार्थी प्रभावित भएका छन्।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रभावित विद्यालयमा अध्ययनरत कूल विद्यार्थीमध्ये ३० प्रतिशत भूकम्पबाट प्रभावित भएका हुन्।
भूकम्पबाट क्षति भएका जाजरकोट र रुकुम पश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत एक लाख ३३ हजार छ सय ८७ जनामध्ये ४० हजार ११० विद्यार्थी भूकम्पबाट प्रभावित भएको सामाजिक विकास मन्त्रालय शिक्षा अधिकृत बलबीर सुनारले जानकारी दिए ।
जाजरकोटमा ७५ हजार आठ सय ५३ विद्यार्थीमध्ये २२ हजार ७५९ र रुकुम पश्चिममा ५७ हजार आठ सय ३४ विद्यार्थीमध्ये १७ हजार ३५१ विद्यर्थी भूकम्पबाट प्रभावित भएको सुनारले बताए।
जाजरकोटमा ४२३ र रुकुम पश्चिममा ३१३ गरी ७३६ विद्यालयमध्ये दुई सय आठ वटा विद्यालय पूर्ण रूपमा क्षति भएका छन्। त्यस्तै, ४१८ विद्यालयमा आंशिक रूपमा क्षति भएको जनाइएको छ।
जाजरकोटका धेरै विद्यालयमा क्षति पुगेको छ। जाजरकोटमा मात्रै १७३ विद्यालय पूर्ण रूपमा र चार सय आठ विद्यालय आंशिक रूपमा क्षति भएका छन्। त्यस्तै, रुकुम पश्चिममा ३५ विद्यालय पूर्ण र १० विद्यालय आंशिक रूपमा क्षति भएका छन्।
भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ। जसमा सबैभन्दा धेरै रुकुम पश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको शिक्षा अधिकृत सुनारले बताए ।
यसैगरी, रुकुम पश्चिमका ३६ र जाजरकोटका ३५ गरी ७१ विद्यार्थी घाइते भएको जनाइएको छ। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको सुनारको भनाइ छ।
भूकम्पमा परी जाजरकोटका एक शिक्षकको मृत्यु भएको छ भने रुकुम पश्चिम र जाजरकोट गरी दुई शिक्षक घाइते भएका छन्।
प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल छ सय सिकाइ केन्द्रहरू स्थापना गर्ने योजना बनाएको छ। सामाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत सुनारले तत्काल भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा अस्थायी सिकाइ केन्द्रहरू निर्माण गरी विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने योजना रहेको बताए।
विद्यालयमा भएको भौतिक क्षतिको लेखाजोखा गरी पुनःनिर्माणको कामलाई अगाडि बढाउने तयारी गरिएको छ।
