काठमाण्डौ – तीनकुने सामूहिक हत्याका आरोपित सञ्जय भण्डारीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी कार्यालय काठमाडौंले अदालतमा भण्डारीविरुद्ध मुद्दा दायर गरेको हो । उनीविरुद्ध क्रूर तथा निर्ममतापूर्वक हत्या गरेको कसुरमा जीवित रहेसम्म कैदमा राख्न मागदाबी गरिएको छ ।
गत २९ भदौको राति तीनकुनेस्थित दिव्य सःमिलभित्र दोलखाको कालिञ्चोक गाउँपालिका– ८ का कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उनका श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेल, धनकुटा भिरगाउँ घर भई हाल मोरङको बेलबारी नगरपालिका– २ बस्ने १९ वर्षीय नवीन राईको हत्या भएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले हत्यामा संलग्नताको प्रमाण पुष्टि भएको, वारदातमा प्रयोग भएका हतियार तथा कपडालगायतका अन्य प्रमाण पनि पुष्टि भएको र क्रूर तथा निर्ममतापूर्वक हत्या गरेको कारण भण्डारीलाई जीवित रहेसम्म जेलमै राख्न मागदाबी लिइएको बताए ।
अभियुक्त भण्डारीले बयानको क्रममा चारजनाको हत्या गरेको स्वीकार मात्र गरेका छैनन्, विभिन्न समयमा अन्य नौजनाको हत्या गरेको दाबी गरेका छन् । बहिरामाथि विभेद गरिएकाले ती हत्या गरेको उनको दाबी छ ।
उनले काठमाडौंको रातोपुल, धुम्बाराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा विभिन्न मितिमा मान्छे मारेको बयानको क्रममा बताएका छन् ।
उनले आफूले मारेका व्यक्तिलाई आफूले नचिन्ने र सबैको हत्यामा धारिलो हतियार प्रयोग गर्ने गरेको पनि बताएका छन् । तीनकुने घटनामा भने भण्डारीलाई प्रहरीले घटनाको दुई दिनपछि ३१ भदौमा पक्राउ गरेको थियो । भण्डारी श्रवणशक्ति नभएका (अपांगता भएका) व्यक्ति भएकाले उनीसँग प्रहरीले सांकेतिक भाषाविद् झिकाएर बयान लिएको थियो ।
