काठमाडौं । युद्धग्रस्त बनेको इजरायलबाट २५३ जना नेपाली नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमानबाट स्वदेश फर्किएका छन् । उनीहरू राति साढे १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् ।
द्वन्द्वग्रस्त गाजासँग सीमाना जोडिएको इजरायलको दक्षिणी क्षेत्रमा शनिबार बिहानदेखि हमास समूहको आक्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरू अलपत्र परेका थिए ।

हमास समूहको आक्रमणमा परेर दश जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विद्यार्थी अझै सम्पर्कविहीन छन् ।
आक्रमण सुरु भएपछि उनीहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा स्थानान्तरण गर्नसमेत हम्मे परेको थियो । नेपाली विद्यार्थीले आफू असुरक्षित रहेको भन्दै सुरक्षित स्थानमा सार्न आग्रह गरेको करिब चार दिनपछि मात्रै उनीहरूलाई पूर्ण रूपमा उद्धार गरिएको थियो ।

इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो ।
यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई समेत सुरक्षित ठाउँमा सारिएको थियो ।
आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । हराइरहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी भइरहेको जनाएको छ । स्थानीय प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा खोजीकार्य अझ तीब्र पारिएको नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले इजरायलमा करिब ४ हजार ५०० नेपाली रहेको अनुमान गरेको छ ।
नेपालबाट सुदूरपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र कृषि विश्वविद्यालयबाट इजरायलसँग सरकारले सम्झौता गरेको ‘लर्न एण्ड अर्न’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका कृषि विज्ञान अध्ययनरत २६५ जनाभन्दा बढी नेपाली विद्यार्थी सो क्षेत्रमा फसेका थिए ।
परराष्ट्रमन्त्री साउद नेतृत्वको संयन्त्र र मन्त्रालयको समन्वयमा इजरायली सुरक्षाकर्मीको सहयोग लिएर नेपाली विद्यार्थीलाई युद्धग्रस्त क्षेत्रबाट तेल अबिबलगायत सुरक्षित स्थानमा सारिएको थियो । सुरक्षित स्थानमा सारिए पनि युद्ध थप चर्किरहेका कारण उनीहरू स्वदेश फर्किन चाहेका थिए ।
सुरक्षित स्थानमा राखिए पनि नेपालीहरूले आफूमाथि खतरा रहेको भन्दै नेपाल फिर्ता ल्याउनका लागि दबाब सिर्जना गरेका थिए । त्यसपछि सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ताका लागि अनलाइन फर्म खुला गरेर दर्ता प्रक्रिया सुरु गरेको थियो ।
बिहीबारसम्म करिब चार सयजना नेपालीले स्वदेश फिर्ताका लागि नाम दर्ता गराए पनि शुक्रबार बिहान इजरायल उडेको नेपाल वायुसेवा निगमको विमानमा २५३ जना मात्रै फर्किएका छन् ।
विमानको सीमित सिट क्षमताका कारण सबैलाई एकैपटक नेपाल ल्याउन नसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, कतिपयले फर्किने विषयमा पुनर्विचार समेत गरेका कारण नाम दर्ता गराएका जति सबै फर्किने सम्भावना कम रहेको इजरायलको तेल अबिबमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।
साथै, मृत्यु भएका १० जनाको शव ल्याउन भने समय लाग्ने देखिएको छ । इजरायलमा रहेको नेपाली राजदूतावासका अनुसार शवको पोस्टमार्टमलगायत कानुनी प्रक्रिया पूरा गर्न समय लाग्ने भएका कारण शव ल्याउन समय लाग्ने देखिएको हो ।
इजरायल सरकारले शव हस्तान्तरण नगरेसम्म ल्याउन नमिल्ने भएका कारण अझै समय लाग्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिइन् ।

नेपाल फर्किन चाहेका नागरिकलाई स्वदेश ल्याउनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैं बिहीबार बिहान नेपाल वायुसेवा निगमको विमानबाट इजरायल पुगेका थिए । उनलाई इजरायली विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल र नेपाली राजदूत कान्ता रिजालले स्वागत गरेका थिए ।
इजरायलमा मन्त्री साउदले त्यहाँको विदेश मन्त्रालयका उच्च अधिकारीहरूसँग भेट गरेका थिए । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार इजरायली अधिकारीले नेपाली नागरिकको सुरक्षामा कुनै कमी हुन नदिने र स्वदेश फर्किन चाहनेहरूलाई पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
इजरायलको तेल अबिब विमानस्थलमा करिब दुई घण्टा समय बिताएको नेपाल वायु सेवा निगमको विमान २५३ जना नेपाली बोकेर रातिसाढे १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने भएको छ ।
