काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पाँच प्रदेशमा समाजवाद जागरण अभियान सम्पन्न गरेको छ । काँकडभिट्टाबाट सुरु गरेको अभियान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न भएको हो । असोज १४ गतेदेखि सुरु भएको अभियान २९ गतेसम्म सञ्चालन हुने भएको छ । पार्टीका नीति सिद्धान्त र कार्यदिशाबारे जनतालाई बुझाउन अभियान गरिएको पार्टीका महासचिव घनश्याम भुसालले बताए ।

अभियानअन्तर्गत देशको राजनीतिक परिस्थिति, भ्रष्टाचार, बेथितिको अवस्था र गरिबी न्यूनीकरणका लागि पार्टीको योजनाबारे जनतामा जागरण फैलाइनाका साथै जनताको घरदैलोमा पुगेर आर्थिक, राजनीतिक र सामाजिक सुरक्षाका विषयमा सुझाव सङ्कलन गरिएको छ ।
जनताका समस्या समाधानका लागि पार्टीका वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण आधारभूत तहसम्म स्थापित गर्न थालिएको सो अभियानका लागि विभिन्न सभा तथा सम्मेलन गरिएका छन् ।

विभिन्न पार्टी परित्याग गरी करिब चार हजारभन्दा बढी नेता तथा कार्यकर्ता सो पार्टीमा प्रवेश गरेको पार्टीको प्रचार विभागले जनाएको छ । पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरेको सो अभियानमा कार्यकर्ता भेला, पत्रकार सम्मेलन, अन्तरक्रिया, कोणसभा तथा ठूला आमसभासमेत गरिएका छन् ।
