इजरायल र लेबनानको हिजबुल्लाह समुहबिच युद्धविरामको सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको औपचारिक घोषणा गरेका हुन् । उनका अनुसार उक्त सम्झौता बुधबारबाट लागु भएको छ ।
युद्धविराम सम्झौता हुनुभन्दा केही घण्टा अघिमात्रै इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरहरूमा व्यापक हवाई हमला गरेको थियो । इजरायली सेनाले लगभग दुई महिना अघि लेबनानमा स्थल तथा हवाई हमला तिव्र पारेको थियो ।
सम्झौता अनुसार इजरायली सेना ६० दिनभित्र लेबनानबाट फर्किनेछ भने हिजबुल्लाहका लडाकुले इजरायली सिमासँग जोडिएको लेबनानको दक्षिणी क्षेत्र छोड्नेछन् । उक्त क्षेत्रमा लेबनानको राष्ट्रिय सेनाले सुरक्षा दिनेछ ।लेबनानमा गरिएको युद्धविरामले गाजापट्टीमा जारी इजरायलको युद्धलाई भने असर नगर्ने बताइएको छ ।
यस्तै इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सम्झौता भएकोमा संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्वयन गर्न आह्वान गरेको अन्तराष्ट्रिय संचारमध्यमले जनाएका छन् ।