न्यून बिन्दुमा ओर्लिएको बजारको मूल्यवृद्धि दर असोजमा फेरि उकालो लागेको छ। नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन–असोज) को आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले असोजमा उपभोक्ता मूल्यवृद्धि दर ४.८२ प्रतिशत पुगेको देखाएको हो। भदौमा यस्तो मूल्यवृद्धि दर ३.८६ प्रतिशत मात्रै थियो।
यद्यपि अघिल्लो वर्षसँग तुलना गर्दा भने असोजको मूल्यवृद्धि दर निकै थोरै हो। गत वर्षको असोजमा बजारको उपभोक्ता मूल्यवृद्धि दर ७.५ प्रतिशत थियो। राष्ट्र ब्यांकका अनुसार गत असोजमा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि दर ७.१८ प्रतिशत पुगेको छ। खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि दर उच्च हुँदा न्यून आय हुने समूह बढी मारमा पर्छ। न्यून आम्दानी हुने घरपरिवारको आम्दानीको अधिकांश रकम खानेकुरा किन्नमा खर्च हुन्छ।
असोजमा सबैभन्दा बढी तरकारीको मूल्य २५.१५ प्रतिशतले बढेको छ। असोज दोस्रो साता आएको असाधारण पानीले तरकारी बाली बिगार्नुका साथै आपूर्ति प्रणालीलाई छिन्नभिन्न बनाएको थियो। यसले बजारमा मूल्यवृद्धि बढाएको थियो।
असोजमा दाल तथा गेडागुडीको मूल्य १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य ९.५७ प्रतिशत र घ्यू तथा तेलको मूल्य ४.९८ प्रतिशतले बढेको छ। तर असोजमा माछा तथा मासुको मूल्य १.१८ प्रतिशत, मरमसलाको मूल्य ०.७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको मूल्य ०.७८ प्रतिशतले घटेको छ।
असोजमा गैरखाद्य तथा सेवा समूहको मूल्य ३.४९ प्रतिशतले बढेको छ। राष्ट्र ब्यांकका अनुसार अघिल्ला महीनाहरू जस्तै असोजमा पनि रेमिटेन्सको प्रवाह बढ्ने दर कायम रह्यो। यो आर्थिक वर्षको पहिलो त्रैमास (साउन-असोज) सम्ममा चार खर्ब सात अर्ब रुपैयाँको रेमिटेन्स नेपालले भित्र्याएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ११.५ प्रतिशत धेरै हो। यद्यपि रेमिटेन्सको वृद्धिदर निकै घटेको तथ्यांक छ। अघिल्लो वर्षको असोजसम्ममा रेमिटेन्स २५.८ प्रतिशतले बढेको थियो।
असोजसम्ममा पनि देशको बाह्य कारोबारको स्थितिलाई जनाउने चालू र शोधनान्तर जस्ता खाता सकारात्मक छन्। यी खाता धनात्मक हुनु भनेको देशबाट बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको भन्ने बुझिन्छ। योसँगै नेपालको वैदेशिक मुद्राको सञ्चिति १६ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ। यो गत असारमा १५ अर्ब २७ करोड डलर थियो। यो सञ्चितिले १४.६ महीनाको वस्तु र सेवाको आयात थेग्न सक्छ।